२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

नेपालगन्जमा वर्षकै बढी तापक्रम, ‘लु’ चल्न सुरु

नेपालगन्ज, 
१४ जेठ । नेपालगन्जमा दुई दिनदेखि पश्चिमी तातो हावा (लु) चलिरहेको छ । मंगलबार यो वर्षकै सबैभन्दा बढी तापक्रम पनि मापन गरियो । जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका नायब मौसम विज्ञान सहायक योजना बस्ताकोटीका अनुसार मंगलबार ४१.८ डिग्री सेल्सियस तापक्रम थियो । जबकी न्यूनतम् तापक्रम भने २४.२ मात्र थियो ।

आइतबार रातिदेखि नेपालगन्जमा चर्को गर्मी महसुस हुन थालेको हो । न्यूनतम् तापक्रम पनि बढेकाले रातिको समयमा पनि गर्मी भइरहेको छ । पंखाले समेत तातो हावा फाल्ने गरेको छ । दिनमा धेरै लामो समयसम्म विद्युत जाने भएकाले नागरिकलाई थप सास्ती भइरहेको छ ।

हावापानी कार्यालयका अनुसार दुई दिनयता ४१.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेको छ । कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार सोमबार नेपालगन्जको अधिकतम् तापक्रम ४१.५ डिग्री सेल्सियस थियो ।

न्यूनतम् तापक्रम भने २४.८ थियो । विकका अनुसार नेपालगन्जमा सन् २०१२ जुन १४ मा अहिलेसम्मकै सर्वाधिक तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो । यहाँको न्यूनतम् तापक्रम नै २७ डिग्री सेल्सियससम्म पुग्ने खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।