काठमाडौं,
१५ जेठ । दुई महिनापछि नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण हुन थालेको छ। गत चैत ११ गतेबाट सरकारले बन्दाबन्दी घोषणा गरेपछि नेपालका सुनचाँदी विक्रेताहरूले सुनको मूल्य निर्धारण गर्न बन्द गरेका थिए।
यसबीचमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निकै उतारचढाव आइसकेको भए पनि नेपाली बजारमा भने यसको मूल्यांकन हुन नसक्दा अन्यौलता बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। त्यही अन्यौलता चिर्न भन्दै महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला ८६ हजार १ सय रुपैयाँ तोकेको छ।
बन्दाबन्दी सुरु हुनुअघि १० चैतमा प्रतितोला ७७ हजार रुपैयाँ तोकिएको थियो। यसरी नेपाली बजार बन्द हुँदै गर्दा सुनको भाउ नौ हजारभन्दा धेरैले महँगिइसकेको छ। यो मूल्य नेपाली बजारमा प्रकाशित मूल्यमध्ये हालसम्मकै उच्च पनि हो।