२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

रोल्पामा चट्याङबाट २ महिलाको मृत्यु

रोल्पा, 
१६ जेठ । चट्याङमा परेर शुक्रबार रोल्पामा दुई जनाको मृत्यु भएको छ । पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहान सवा ११ बजे परेको चट्याङका कारण दुई महिलाको ज्यान गएको हो ।

प्रहरीका अनुसार चट्याङबाट गैरीगाउँस्थित जङ्डाँडाका २४ वर्षीया आशा बुढा र ७५ वर्षीया उनकी फूपू सासु खिर्मा बाँठामगरको ज्यान गएको हो । खिर्मा माइत आएकी थिइन् भने आशा घरमै थिइन् । घरमै रहेका आशाका पति सविन र काखे बालकलाई केही भएको छैन । घटनापछि सख्त घाइते दुवैलाई लिबाङस्थित रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल प्रमुख डा. धनमाया घर्तीमगरले दुवैको मृत्यु अस्पताल ल्याइपुर्‍याउनु अघि नै भएको बताइन् ।

घटनालगत्तै उद्धारका लागि प्रहरी घटनास्थल पुगेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिनेबारे छलफल थालिएको बताए । मृतक दुवैको पोस्टमार्टम पनि रोल्पा अस्पतालमा गरिएको खबर कान्तिपुरमा प्रकाशित छ ।