बुटवल,
१७ जेठ । भारतमा रोजगारी गर्न गएका व्यक्ति फर्कने क्रम बढेसँगै प्रदेश ५ का क्वारेन्टाइन भरिभराउ भएका छन् । प्रदेशका १२ जिल्लामा एक हजार २ सय ३९ क्वारेन्टाइन छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार साँझसम्म प्रदेश ५ का क्वारेन्टाइनमा ३२ हजार ३ सय ७३ जना रहेका छन् ।
कोरोना आशंकाका उनीहरुमध्ये २ हजार ७ सय ३८ जनाको मात्र स्वास्थ्य परीक्षण भएको छ । करिब ३० हजार स्वास्थ्य परीक्षणको पर्खाइमा छन् । क्वारेन्टाइनमा अनुमानभन्दा बढी भीड हुँदा समयमा स्वास्थ्य परीक्षण गर्न नसकिएको प्रदेश सरकारले जनाएको छ । यद्यपि १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी र अति प्रभावित क्षेत्रबाट आएकालाई त्यसभन्दा छिटो पीसीआर परीक्षण गर्न लागिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।
दाङ तुलसीपुर ११ को उरहरी माविमा रहेको क्वारेन्टाइन । फोटो : बिष्णु भण्डारी