२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बाजुरामा कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु

धनगढी, 
१८ जेठ । नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

सुदुरपश्चिम स्थित बाजुरा जिल्लामा कोरोना भाइरसबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको हो । ८ दिन अघि मात्रै बालिका सहित उनका बा आमा भारतबाट फर्किएका थिए । बालिकाको जिल्ला अस्पतालको आइसोलेसनमा आज बिहान मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ ।

यस्तै मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना देखिएको बताइएको छ । संक्रमित आमालाई अहिले सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिर्पोट भने नेगेटिभ आएको छ ।

मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।