तुलसीपुर,
१८ जेठ । मन्दिप भुजको हत्यारालाई प्रहरीले आज आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सन्चालक समेत रहेका २८ बर्षिय भुजको उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
डिएसपी हरिहरनाथ योगीले पत्रकार सम्मेलन मार्फत जानकारी दिदै गत जेठ १६ गते शुक्रवार राती चौधरी होटेलमा संगै मादक पदार्थ सेवन गरी सामान्य विवाद हुदा उनको हत्या भएको बताएका छन् । शनिवार विहान मृत फेला परेका भुजको सुक्ष्म अनुसन्धान गर्दा घटना घटेको ६ घण्टा भित्र हत्यारा पत्ता लगाउन सफल भएको उनले बताएका छन् ।
उनका अनुसार तुलसीपुर ५ बस्ने अजय बुढाथोकी, सोहि वडाका आषिश नेपाली, तुलसीपुर १८ बस्ने ओम बहादुर सार्की र अर्घाखाँची जिल्ला ढिकुरा वडा नम्वर घर भई हाल तुलसीपुर ६ बस्ने शौरभ पोख्रेल मिलेर भुजको हत्या भएको हो ।
ती चार जना अभियुक्त मध्ये सुरुमा शौरभ पोख्रेलले ढुङगा प्रहार गरी गम्भिर घाईते बनाएपछि अन्य तिन जना घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिएसपी योगीले बताएका छन् । होटेलमा संगै बसेर मापसे गरी होटेलमा होहल्ला गर्दा होटेलकी साहुनीले घर जानुस् भनेपछि उनीहरु त्यहाबाट निस्किएको र बाटोमा विवाद हुँदा तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि लगेर हत्या गरेको प्रहरीको भनाई छ ।
होटेलमा मापसे गर्दा उनीहरु संगै गएका सुमन बस्नेत, सुनिल विकले विवाद नहुँदै उनीहरुलाई छोडेर घर गएका थिए । यस्तै अर्का टिकम बु्ढामगर पनि उनीहरुको विवाद हुँदा झगडा नगरी भनि घर गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
उनीहरु घर गईसकेपछि मृतक भुजसहित पाँच जनाको विचमा विवाद हुँदा उक्त घटना भएको हो ।