२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

‘राती हुरी बतास आउँदा रुखको फेदमुनि रुख समातेर बस्छौं’

कपिलवस्तु, 
१८ जेठ । भारतबाट आएका सर्वसाधारण युवालाई यशोधरा गाउँपालिकाको वडा नं. ८ कार्यालयले क्वारेन्टाइनको व्यवस्था नगर्दा गाउँको एक बगैचा र खुला आकाशमा उनीहरु बस्न बाध्य छन् । वडा नं. ८ को मधुनगरा गाउँ किनारको बगैचालाई भारतबाट फर्केका स्थानीय २३ जना युवाहरुले क्वारेन्टाइन बनाएका छन् ।

दिनभरि रुखको छहारीमा बस्छन् सांझ परेपछि सामान्य त्रिपालको ओत लगाएर रात बिताउँछन् । कोरोना संक्रमणभन्दा बढी डर घाम पानी तथा विषालु सर्पको छ, वडा नं. ८ मधु नगराका ३९ वर्षीय चन्द्रभूषण मल्लाहले भने ।

मल्लाह २२ दिनदेखि रुखमुनिको खुल्ला क्वारेन्टाइनमा बसेका छन् । राती हुरी बतास आउँदा रुखको फेदमुनि रुख समातेर बस्छौं, मल्लाहले भने, हामीलाई घाम पानी ओत्न सामान्य त्रिपालसम्म पनि वडा अध्यक्षले दिएनन् । निर्वाचनका बेला भोट माग्न आउने नेतालाई हाम्रो कुनै वास्ता छैन, यसको हिसाब किताब अब निर्वाचनका बेला हामी लिन्छौं।

वडा अध्यक्षसहित वडा कार्यालयका कुनै प्रनिनिधिले आफूहरुको खोज खबर नलिएको उनीहरुको गुनासो छ । गुजरातबाट घर फर्केका स्थानीय राजु मल्लाह पनि १८ दिनदेखि यहीं बस्दै आएका छन् । घर अथवा गाउँमा पसे कोरोना संक्रमणको जोखिम घर परिवार र गाउँमै पर्न सक्ने भएकाले आफु सुख दुःख गरेरै भए पनि क्वारेन्टाइनमा बस्दै आएको उनले बताए । खुला क्वारेन्टाइनमा उनीहरुले आआफ्नो घरबाट खाट, ओढ्ने ओछ्याउने, झुल लगायतका आवश्यक सामाग्री ल्याएका छन् ।

जसरी पनि कोरोना परीक्षण र रिर्पोट आउन्जेलसम्म क्वारेन्टाइनमै बसेका छौं, मल्लाहले भने, कोरोना रिर्पोट नेगेटिभ आए घर जाऔंला, पोजिटिभ आए आइसोलेसन वार्ड जाऔंला । भारतका विभिन्न शहरबाट आएका सर्वसाधारणको क्वारेन्टाइन व्यवस्थापनका लागि सवै वडा अध्यक्ष तथा वडा कार्यालयलाई जिम्मेवारी दिइएको यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश पाण्डेयले बताए । वडा कार्यालयले खानासम्म पनि नदिएको भन्ने गुनासो आएपछि खाना खुवाउने प्रबन्ध मिलाएको छु, गाउँपालिका प्रमुख पाण्डेयले भने, अन्य कुराहरु के भएको हो ? वडा अध्यक्षसँग बुझ्दैछु भनेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।