दाङ,
१८ जेठ । दाङमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संंक्रमण देखिएको छ । देउखुरीको गढवा गाउँपालिका–६ मा रहेको जनता माध्यामिक विद्यालयको क्वारेन्टाइनमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु मध्ये लमही नगरपालिका–१ का ४० बर्षीय पुरुष र राप्ती गाउँपालिका–८ निवासी ३६ बर्षीय पुरुष रहेका छन । आइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दुई जना स्वास्थ्यकर्मीसहित चार जनामा आइतवार कोरोना भाइरसको संक्रमण देखिएको गढवा गाउँपालिकाले जनाएको छ । गढवा गाउँपालिकाले आफ्नो आधिकारी फेसबुक पेजमार्फत दुई जना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ ।
अन्य दुई जना गढवा गाउँपालिका–६ निवासी ३६ बर्षीय र वडा नं. ७ निवासी २४ बर्षीय पुरुषहरु रहेका छन । उनीहरु भारतबाट आएको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन । आइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणका क्रममा ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ ।