२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

अगैया दुर्घटना : मृतक र घाइतेको स्वाब परीक्षण हुँदै

बाँके, 
१९ जेठ । बाँकेको अगैयामा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब सङ्कलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो ।

‘कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा मृतकमा कोरोना भाइरस सङ्क्रमण भए नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब सङ्कलन गरिएको हो’, उनले भने, ‘मृतकमा कोरोना सङ्क्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने सङ्क्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिनेछ ।’

मृतक तथा घाइते सबै भारतबाट आएकाले उनीहरुमा कोरोना सङ्क्रमणको जोखिम रहेकाले स्वाब सङ्कलन गरी परीक्षण थालिएको उनले बताए । नेपालगञ्जको जमुनाहाबाट सल्यानतर्फ जाँदै गरेको ना५ख ५९९५ नंको फोर्स गाडी जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नंको ट्रकमा ठोक्किएर गएराति दुर्घटना भएको थियो ।

दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृतकका शव भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ भने घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालक र दुई सहचालकसमेत गरी ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए । मृतकको परिचय खुल्न सकेको छैन ।