२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

बाँके दुर्घटनाको कारण : तीव्र गति र मादक पदार्थ सेवन

 

दाङ,
२० जेठ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्ति सोनारी गाउँपालिका २ को मुगुवा खोला नजिकैको ठुरियाको जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। ११ जनाको घटनास्थलमै र एक जनाको उपचारार्थ नेपालगन्जको भेरी अस्पतालमा ल्याएपछि मृत्यु भएको हो।

भारतको विभिन्न राज्यबाट घर फर्केका नेपालीलाई बोकेर नेपालगन्जको जमुनाहा नाकाबाट दाङको तुलसीपुरसम्म आउन लागेको ना५ख ५९९५ नम्बरको हायस आइतबार राति ११ः३० बजेतिर रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

यात्रुले गाडी दुर्र्घटना हुनुमा चालक दलका सदस्यले रक्सी सेवन गर्नु, क्षमताभन्दा दोब्बर बढी यात्रु राख्नु र गाडीको हेडलाइट नै डिम भएको बताए।

नेपालगन्जको जमुनाहाबाट क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेर सोमबार राति ८ः३० बजे गाडी दाङतिर प्रस्थान गरेको थियो। दुर्घटना भई भेरी अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेको दाङ तुलसीपुरका विष्णु गिरिले सुरुदेखि नै गाडी स्पिडमा चलाएको बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।