२०७७ मङ्सिर १८ गते बिहिवार
२०७७ मङ्सिर १८ गते बिहिवार

रित्तियो शान्तिनगरका पूर्णबहादुरको परिवार

दाङ, 
२० जेठ । दुई देशको लकडाउन छिचोल्दै घरनजिकै आइपुगेका पूर्णबहादुर पुनको श्रीमती र छोरासँगै निधन भयो। दाङको शान्तिनगर गाउँपालिका ३ पातेटाकुराका ३२ वर्षीय पूर्णबहादुर पुनले आइतबार दिउँसो १ बजे भारतको बरेलीबाट जेठा दाजु भविश्वर पुनलाई फोन गरेर घर आउन लागेको खबर सुनाए।

जेठा दाजु भविश्वरसँग लामो पारिवारिक गफसमेत गरे। पूर्णले दाजुसँग भनेका थिए, ‘केही चिन्ता नलिनु, भोलि बिहानसम्म घर आइपुग्छौं, यो साल घर पनि बनाउनु छ, मिस्त्रीको पनि जोहो गर्नु होला। बुबा बिरामी हुनुहुन्छ, ख्याल गर्नुहोला।’

त्यतिबेलै उनले परिवार घर आउन लागेको जानकारी समेत गराएका थिए। तर पूर्णको घर पुग्ने सपना बाटोमै हरायो। पूर्व–पश्चिम राजमार्गको अगैयानजिकै भएको सवारी दुर्घटनाले उनको ज्यान गयो। पूर्णबहादुरको तीन जनाको परिवार नै दुर्घटनाले चुडाएको छ। श्रीमती ३० वर्षीय सीता ९ वर्षीय हिमांशुको एउटै दुर्घटनामा परी ज्यान गएको हो। दुर्घटनाले शान्तिनगर–३ पातेटाकुरा शोकमा डुबेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

तस्बिर : खेमराज तिवारी