भैरहवा,
२० जेठ । अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुँदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए ।
मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् । मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।
उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’
मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।