‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’
शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्र्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् ।
पीडा भएपनि रुँदारुँदा सकिएको आँशु युट्युबरका लागि भन्ने बित्तिकै कहाँ आउछ र ? मन रोएकै छ तर आँखामा आँशु निकाल्न बाध्य पार्छन् ।
रुकुम पश्चिम नरसंहार काण्डका भिडियो खिचेर युट्युबबाट पैसा कमाउन देशैभरका युट्युबर यतिबेला तँछाडमछाड गरिरहेका छन् । जसलाई पीडितहरुको दुःख बेदनामाथि कुनै मतलब छैन । उनीहरुको मात्र आँशु र संवेदनामाथि भिडियो बनाएर डलर झार्न उद्धत छन् ।
रुकुम र जाजरकोटको घटनास्थललाई अहिले युट्युबरले छपक्कै छोपेका छन् । त्यहाँको दृश्य हेर्दा लाग्छ शोकाकुल परिवारका लागि निम्तिएको यो दशाले युट्युबरलाई जेठमै दशैँ आएको छ ।
युट्युबरलाई अन्तरवार्ता दिएर आजित हैरान भएका रुकुम पश्चिम र जाजरकोटका स्थानीय अहिले कुनै रडियो, टेलिभिजन र पत्रिकाका सञ्चारकर्मी रिर्पोटिङ गर्न पुगे बोल्नै रुचाउँदैनन् । जाजरकोटस्थित मृतक नवराजकी दिदी सरिता बिकसँग कुरा गर्न खोज्दा भनिन्–‘धेरै जना आएर भिडियो खिचेर गइसक्नुभएको छ, अब कति जनासँग बोल्ने हो ?’ भनेर झर्किइन् ।
पोष्टमार्टम गरेर नवराज विकको शव प्राप्त गरेपछि भेरी नदीमा जलाउन लगियो । शब जलिरहँदा पीडाले आहत भएका उनका बाबुलाई पनि युट्युबरको समूहले नबोली सुख दिएनन् ।
छोराको शब जल्दा तपाईंलाई कस्तो लागेको छ ? जस्ता विभिन्न प्रश्न सोध्दै क्यामेरा र बुम उनको अनुहारमा सोझाएर केरकार गरिरहे । मानौँ युट्युबर न्याय निसाफ दिन आएका कारिन्दा हुन्, जसलाई आफ्नो एकमात्र छोरा चितामा जलिरँहदा पनि एक शोकाकूल बाबुले अन्तरवार्ता नदिई धरै पाउदैनन् ।
नवराजका बुवा छोराको किरिया बसे । तर उनको पीडा र आँशुलाई व्यापार गर्न एक हुल जमात उनको घरमा लाइन लागेर बसेको थियो । दृश्य यस्तो थियो कि नवराजका बुवा छोराको किरिया बसेका होइनन् उनी युट्युबरको च्यानलको सब्सक्राइवर बढाउन, लाइक भ्यूज बढाउन र डलर झारिदिनका लागि अन्तरवार्ता दिन बसेका हुन् ।
पालैपालो उनीहरु क्यामेरा र बुम तेस्र्याएर उनको दुखेको घाउ कोट्याइरहन्थे । उनीहरुले अन्तरवार्ता लिन मृतकका आफन्त बालबच्चादेखि बृद्धसम्म कसैलाई छोडेनन् ।
अचेल नेपाली युट्युब च्यानल हेर्दा यस्तै लाग्छ, कतै घटना हुनुहुन्न त्यहाँ पीडामा बसेको मान्छेले अन्तरवार्ता नदिइ सुखै पाउँदैन् । अर्कोतिर पीडामा रहेका वा अन्यायमा रहेकाहरुले न्याय पाउने आसमा पनि युट्युबमा बोल्न खोज्छन् तर युट्युबर न प्रहरी हुन न अदालत नै । तर उनीहरु पुलिसले जस्तै केरकार गर्छन्, आफै न्यायाधिस बन्छन र फैसला पनि गरिदिन्छन्, पीडितको संवेदनामा खेल्छन् । भ्यूज नघटेसम्म पीडितहरुको घाउ कोट्याइरहन्छन् र भ्यूज घट्न थालेपछि आफ्नो बाटो लाग्छन् ।
नवराज विक र अन्य मृतकको परिवारले पनि आँशु खसाल्दै युट्युबरलाई पोख्नुसम्म पीडा पोखे । उनीहरुको यो बज्रपात युट्युबरका लागि बडादशैँ थियो । बिकको घरमा मलामी र आफन्तजन उम्काउनको भ्याइनभ्याइ नहुँदा समेत उनीहरुले पछ्याउन छोडेनन् ।
रुकुम र जाजरकोट पुगेका युट्युबरमात्र हैन घरको बन्द कोठामा बसेका युट्युबरले पनि घटना र पीडितको संवेदनामा खेलिरहेका छन् । एउटा च्यानलको शीर्षक थियो–‘बल्ल भयो रुकुम हत्या काण्डमा नयाँ खुलासा । प्रेमिका नबोल्नुको कारण यस्तो ।’
सुन्दै जाँदानयाँ खुलासा त यस्तो पो रहेछ, प्रहरी हिरासतमा भएका कारण उनी मिडियामा आउन नसकेकी रहिछन् । के त्यही हो नयाँ खुलासा ? मानिसलाई झुक्काउने, ठग्ने र बेवकुफ बनाउने ? रुकुम घटनाको दोषी को हो भनेर काठमाडौँमा झाँक्रीसँग समेत अन्र्तवार्ता लिएको भेटियो । झाँक्रीले नै दोषी पत्ता लगाउने भए किन चाहियो प्रहरी, किन चाहियो अदालत ?
केही पहिले भएको शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा युट्युबरले भ्रमित पार्न उनको आँखाको नानीमा हत्याराको दृश्य देखाएका थिए । अहिले रुकुमको घटनामा पनि त्यस्तै गर्दैछन् ।
भेरी नदिमा मृत फेला परेका लोकेन्द्र सुनारको शव दुबै हात डोरीले बाँधेको अवस्थामा भनेर अर्कै नक्कली तस्वीर राखे । स्थानीय सञ्चारकर्मी भएकोले होला भनेर धेरैले पत्याएर शेयर पनि गरे ।
रुकुम जाजरकोट घटनाबारे एकजमात नेपाली युटुवरहरुले अलिकति पनि मानवीयता, सामाजिक उत्तरदायित्व र संवेदनशिलता देखाएनन् । यो मात्र हैन उनीहरु हरेक घटनालाई यसरी नै लिन्छन् । जहाँ प्रहरीले अनुसन्धान गर्न थालेको हुँदैन, उनीहरु आफै पुलिस बनेर केरकार गर्छन्, न्यायाधीश बनेर युट्युबबाटै फैसला गर्छन, देश विदेशमा रहेका जनतालाई भ्रमित पारेर युट्युबबाट डलर झारेर बाटो लाग्छन् । यो अहिलेको यथार्थ कटु सत्य हो ।
-साभार : रातोपाटी