२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

फूल लिएर डिस्चार्ज भएका युवकको हातमा प्रहरीको हतकडी

बैतडी,
२१ जेठ । कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवालाई हतकडी लगाएको छ । युवती हत्याको आरोपमा प्रहरी हिरासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हतकडी लगाएर कारागार चलान गरेको हो ।

बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवा अमरसिंह साउद युवती हत्याको अनुसन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । मुद्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई कारागार चलानग गर्ने आदेश दिएको थियो ।

कारागार चलान गर्नुअघि युवामा कोरोना चेकजाँच गर्दा यही जेठ ९ गते युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । युवा गत चैत ६ गते भारतबाट फर्केका थिए ।

भारतबाट फर्केर गाउँकै एक युवतीसँग अमर साउदको प्रेम सम्बन्ध रहेको बताइएको छ । युवती मृत्त अवस्थामा खोलामा फेला परेपछि युवतीका आफन्तले साउदमाथि हत्याको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

कोरोनामुक्त हुँदा खुशी देखिएका युवा कारागार चलान हुँदा निराश देखिन्थे ।

साभार : गोरखापत्र