२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

बंगलाचुलीका संक्रमित वडाअध्यक्ष सहित ६ जना क्वारेन्टाइनमै

दाङ, 
२२ जेठ । दाङको बंगलाचुली गाउँपालिकाका एक वडाध्यक्षसहित ६ कोरोना संक्रमित गाउँपालिकाकै क्‍वारेन्टाइनमै बसिरहेका छन् ।

दाङको बेलझुन्डीमा कोरोना बिशेष अस्पताल भए पनि बेड अभावका कारण अध्यक्षसहित ६ संक्रमित गाउँपालिकाकै क्‍वारेन्टाइनमा बस्‍न बाध्य भएका हुन् । गाउँपालिकाले उनीहरुलाई राख्‍न झुलिडाँडा भन्‍ने स्थानमा क्‍वारेन्टाइन निर्माण गरिदिएको छ ।

कोरोना विशेष अस्पतालमा थप बिरामी राख्न सक्ने अवस्थै नरहेको भन्ने जानकारी आएपछि उनीहरुलाई उक्त स्थानमा क्‍वारेन्टाइन निर्माण गरेर राख्नुपरेको गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओलीले जानकारी दिएका छन् ।

६ जनालाई छुट्टै क्‍वारेन्टाइनमा राखेको यो गाउँपालिकाले थप संक्रमित भेटिए कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या निम्तने पक्काजस्तै भएको छ । स्थानीय तहले नै आइसोलेसन बनाउने भनिए पनि गाउँपालिकासँग बजेट नभएको अध्यक्ष ओलीको तर्क छ ।

संघीय, प्रदेश सरकारले नदिएको अवस्थामा आइसोलेसन निर्माण गर्ने कुरा सम्भव नभएको उनी बताउँछन् । अध्यक्ष ओलीका अनुसार भएका विद्यालयलगायत सरकारी भवनमा क्‍वारेन्टाइन प्रयोग भइसकेका छन् ।

-साभार : बाह्रखरी