अर्घाखाँची,
२२ जेठ । अर्घाखाँचीमा दलित युवकले पकाएको खाना कथित माथ्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन् । मालारानी गाउँपालिका–४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो ।
वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन् । उनले पकाएको खाना दिल्लीबाट आएका शीत गाउँका दिनेश घिमिरे लगायतले मंगलबार बहिष्कार गरे । त्यसपछि उनीहरुलाई स्थानीय पुरुषोत्तम भुसालले घरबाटै खाना ल्याइदिएका थिए ।
‘मैले भरेको पानी खानुभयो तर भात खानुभएन,’ विकले भने, ‘दलितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने जवाफ दिनुभयो ।’
दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।
‘दलितले पकाएको भात उपल्लो जातिले खानु नखानु उसको व्यक्तिगत स्वतन्त्रता हो, मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु’ भनेपछि घिमिरेलाई अन्यत्र सारियो, वडाध्यक्ष पोखरेलले भने, क्वारेन्टाइनमा राख्दा जातीय रुपमा हेरिएन । सबैलाई एकै ठाउँ राखेका छौं ।