२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

प्रदेश ५ सरकारविरुद्ध मुद्दा दायर

बुटवल, 
२२ जेठ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा प्रदेश ५ सरकारविरुद्ध मुद्दा दायर भएको छ ।

कपिलवस्तु मायादेवी गाउँपालिका ५ का सुनिलकुमार चौहान र कृष्णनगर नगरपालिका ६ का अरुणेशकुमार उपाध्यायले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर ५ बुटवल, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रशासन कार्यालय रुपन्देहीसहित दुई जिल्लाका ९ स्थानीय तहलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् । विपक्षीले मापदण्डअनुसार क्‍वारेन्टाइन सञ्चालन नभएको विषय उल्लेख गरी परमादेश माग गर्दै मुद्दा दायर गरेका छन् ।

विपक्षी बनाई मुद्दा दायर भएका स्थानीय तहमा कपिलवस्तुका महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका छन् । त्यसैगरी रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिकासँगै समरीमाई, मर्चवारी तथा मायादेवी गाउँपालिका विपक्षी छन् । उक्त मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परामादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊ भन्ने माग गरिएको छ ।

मुद्दामा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतका कार्य गरिएको र गराइएको उल्लेख छ । त्यसैगरी क्‍वारेन्टाइन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ । तर प्रदेश ५ सरकारले भने कोभिड १९ विरुद्धको कामकारबाहीमा कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताउँदै आएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले मुद्दाको सुनुवाइका लागि जेठ २३ का लागि पेसी तोकेको खबर कान्तिपुरमा प्रकाशित छ ।