२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोना परिक्षण रिपोर्ट नआउदै क्वारेन्टाइनबाट डिस्चार्ज

दाङ, 
२२ जेठ । राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए । जस मध्य तीन जनामा बुधबार कोरोना पोजेटिभ देखियो । राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठायो ।

तर, बिहिबार फेरि राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भयो । त्यसपछि कोरोना परिक्षण गरिएको रिपोर्ट नआउँदै डिस्चार्ज गरिएको घटना बाहिर आयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना संप्रेषण गर्दा भएको त्रुटिले यस्तो समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले दावी गरे ।

‘क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए । जस मध्य ३५ जनाको नमूना परिक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ । तर, हामीलाई जानकारी गराउदा एक सय ५७ जनाकै परिक्षण गर्दा तीन जनामा देखियो भन्ने सूचना आएपछि तीन जनाबाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो’गाउँपालिकाका अध्यक्ष केसीले भने–‘बिहिबार फेरि राजपुर गाउँपालिकामा थप तीन जना संक्रमित फेला परेको जानकारी आएपछि फेरी हामीले घर घरमा पुगेर ल्याएका छौं ।’

गाउँपालिकाले गम्भिर गल्ती गरेको भन्दै केही संक्रमितका परिवारका सदस्य र गाउँलेहरुले विरोध गरेका छन ।

राजपुर गाउँपालिकाले बिहिबार पुष्टि भएका तीन जना मध्य दुई जना सम्पर्कमा आएको र एक जनालाई सम्पर्कमा ल्याउने काम भइरहेको राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले बताए ।

बिहिबार राजपुर–२ निवासी ३४ बर्षीय, वडा नम्बर ३ निवासी २७ बर्षीय र वडा नम्बर ४ निवासी २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

-साभार: देशसञ्चार