२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बाँके र रुपन्देहीबाट आज ४० जनाले कोरोना जितेर घर फर्किए

बाँके, 
२३ जेठ । बाँकेबाट शुक्रबार कोरोना जितेर १३ जना घर फर्किएका छन् । नरैनापुर गाउँपालिकाका १२ र खजुरास्थित क्यान्सर अस्पतालमा रहेका नेपालगन्जका एक व्यक्ति डिस्चार्ज भएका हुन् । नरैनापुरका १२ जना नेपालगन्जस्थित लायन्स डेन्टल अस्पतालमा थिए ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमित निको हुँदै घर फर्किने क्रम बढ्दो छ । जनस्वास्थ्यका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार अहिलेसम्म ४२ जनाले कोरोना जितेर गएको बताए ।

जिल्लामा अहिलेसम्म २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । एक जनाको मृत्यु भएको र ३ सय २८ जनाको नमुना जाँच्ने प्रक्रियामा रहेको श्रेष्ठले बताए ।

यसैबिच रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट शुक्रबार २७ बिरामी घर फर्किएका छन् । तीमध्ये १८ जना रुपन्देहीका र ९ जना कपिलवस्तुको रहेका अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ती बिरामी आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि पठाइएको उनले बताए ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त पत्रअनुसार पोजिटिभ केसलाई लक्षण नदेखिएको ३ दिन र आइसोलेसनमा भर्ना भएको १४ दिनपछि पुनः परीक्षण नगरी घर पठाउन भनिएको छ’, उनले भने, ‘यहाँबाट डिस्चार्ज भएका बिरामी घर गई थप १४ दिनजति सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेका छौं ।’

२७ डिस्चार्ज भएपछि अस्पतालमा ३ जनरल बेडमा र ३ आईसीयुमा उपचाररत छन् ।