बुटवल,
२४ जेठ । ३ लाख घूससहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन शनिबार बिहान पक्राउ परेका छन् ।
अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयले काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई घूससहित पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकृत सुरेश भुसालले सैनामैना–१० झिमझिमेमा उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरेको बताए । पुनले काठ लिलामीमा रकम लिने गरेको यसअघि पनि धेरै पटक उपभोक्तामार्फत गुनासो आएको थियो ।
अभियुक्त पुनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर बुटवल कार्यालयमा ल्याउँदै गरेको सूचना अधिकृत भुसालले जानकारी दिए ।