२०७८ साउन १३ गते बुधवार
२०७८ साउन १३ गते बुधवार

मृतकको अन्त्येष्टिपछि कोरोना पुष्टि, मलामीको खोजी हुँदै

कैलाली, 
२४ जेठ । डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा (आरडीटी) गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो ।

उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझायो । आफन्तलाई पर्खिएको परिवारले शनिबार मोहना घाटमा अन्त्येष्टि गरे । त्यसको केही घण्टामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमित महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०/२२ जना सहभागी भएका थिए । प्रहरीले उनीहरूको खोजी थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापा भन्छन्, ‘केही मलामी सम्पर्कमा आएका छन्, केहीको खोजी भइरहेको छ ।’

परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको पनि उनले जानकारी दिए ।