२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

बिहान भारतबाट आए, बेलुका क्वारेन्टाइनमा ज्यान गुमाए

बैतडी,
२५ जेठ । बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका एक जनाको शनिबार मृत्यु भएको छ ।

पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको ज्यान गएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टले बताए । शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासी साँझ साढ ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राति साढे ८ बजेतिर मृत्यु भएको हेल्थ असिस्टेन्ट भट्टले बताए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ती व्यक्तिसँगै बेंगलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन पुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् ।