बुटवल,
२५ जेठ । कोभिड–१९ महामारी नियन्त्रण गर्न प्रदेश ५ का अस्पताल र क्वारेन्टाइनमा नियमति योग अभ्यास र जडिबुटीबाटै उपचार सुरु भएको छ । त्यसले संक्रमितमा सकारात्मक प्रभाव पारेको र निको हुनेको संख्या बढ्दै गएको छ ।
सामाजिक विकास मन्त्रालयको आयुर्वेद चिकित्सा महाशाखाको समन्वयमा योग अभ्यास र स्वदेशमै उत्पादित जडिबुटी औषधिको रुपमा प्रयोग हुन थालेको हो । बुटवल उपमहानगरपालिकाको देवीनगरस्थित एन्फा एकेडेमीमा बिहान साढे ५ बजे योग अभ्यास सुरु हुन्छ । साढे ६ बजे भजनकीर्तन र राष्ट्रियताबाट प्रेरित गीतबाट नृत्य गराइन्छ । त्यसले संक्रमितलाई सकारात्मक सोचका लागि प्रेरित गर्ने र रोग प्रतिरोधी क्षमताको विकास हुने लुम्बिनी आयुर्वेद चिकित्सालयका डा. नलिननाथ तिवारीले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।