२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

घोराहीको ‘तुलसीपुर चोक’ को नाम भानु चोक राख्न माग

घोराही, 
२७ जेठ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित तुलसीपुर चोकमा आदिकवि भानुभक्त आचार्यको शालिक राख्न घोराही उपमहानगरपालिकालाई आग्रह गर्दै बिभिन्न अगुवा ब्यक्तिहरुद्वारा भानु चोक नामाकरण गर्दै प्रतिमा स्वरुप भानुभक्त आचार्यको तस्बिर राखीएको छ ।

उक्त चोकमा आज मंगलबार बिहान दाङका साहित्यिक संस्थाहरुबाट राप्ती साहित्य परिषद्, प्रगतिशील लेखक संघ, लेखक संघ, नागरिक समाज दाङ, भानुटोल विकास संस्थालगायत स्थानियले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको फोटो सहितको ब्यानर टाँगेर उपमहानगरलाई साङकेतिक दवाब दिदै भानु चोकमा तस्बिर राखेका हुन ।

प्रदेश ५ का प्रदेशसभा सदस्य अमर बहादुर डाँगीले आचार्यको फोटो सहितको व्यानर राखेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, अग्रज पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्मा, घोराही उपमहानगरपालिका १५ का वडा अध्यक्ष रमेश पाण्डे, लेखक संघका अध्यक्ष खजराज न्यौपाने, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष कमलमणी देवकोटा, साहित्यकार नारायणप्रसाद शर्मा, प्रेस स्वतन्त्र सेनानी शिसिर गौतम, उत्तमकृष्ण मज्जैया, पद्यप्रसाद शर्मा, डा.गोविन्द आचार्य, टीकाराम उदासी, पत्रकार लगायत स्थानियको उपस्थिति रहेको थियो ।

घोराही उपमहानगरले उक्त चोकमा घोडाको प्रतिमा राख्ने निर्णय गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । ५ लाख बजेटको टेण्डर गरेर त्यहाँ घोडाको प्रतिमा राख्ने उपमहानगरको तयारी थियो । घोराहिकै ट्राफिक चोकमा २५ लाखको घोडा राखी सकिएको छ । सो चोकमा राखिएको घोडाको प्रतिमा मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए । त्यसैगरी नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले यस अघि घोराहीको ट्राफिक चोकमा घोडाघोडीको प्रतिमा राखिएपछि पुनः उस्तै प्रतिमा अर्को चोकमा राख्नु उपयुक्त नरहने वताए ।

तत्कालीन त्रिभुवननगर नगरपालिका दाङले गरेकै उपयुक्त नामाकरणलाई कायम राख्दै भानुभक्तको प्रतिमा राखेर भानुचोक कार्यान्वयन गरेर आम घोराहीबासीको भावनाको सम्मान गर्न घोराही उपमहानगरपालिकालाई अनुरोध गरिएको छ । यस भन्दा अगाडी पनि उक्त विषयमा उपमहानगरलाई साहित्यिक संस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरिसकेका थिए ।