काठमाडौं,
२७ जेठ । बलिउड प्रवेशका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर संघर्षरत नेपाली चलचित्रकी अभिनेत्री निरिशा बस्नेतमा कोरोना संक्रमण देखिएको छ । उनले छाति दुख्न थालेपछि कोरोनाको परिक्षण गराएकी थिइन् । पीसीआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनले इन्स्टाग्राममार्फत् आफूमा कोरोना देखिएको र चिकित्सकको निगरानीमा रहेको बताएकी छन् ।
उनले आफू चाँडै निको भएर घर फर्किने विश्वास व्यक्त गरेकी छन् । अभिनेत्री निरिषाले चलचित्र ‘जानी नजानी’ बाट नेपाली चलचित्रमा डेब्यू गरेकी थिइन्, जुन चलचित्र गत वर्ष प्रदर्शनमा आएको थियो । यो चलचित्र गर्नका लागि उनी मुम्बईबाट नेपाल आएकी थिइन् । चलचित्र बक्सअफिसमा असफल भए पनि दर्शक तथा समीक्षकले उनको अभिनय रुचाएका थिए ।
निरिषाका पिता विश्व बस्नेत पनि कलाकार हुन् । पिताकै पदचाप पछ्याउँदै अभिनयमा होमिएकी उनले केही भारतीय सिरियलमा अभिनय पनि गरेकी छन् । ‘चन्द्र नन्दिनी’ नामक सिरियलमा उनले मुख्य भूमिका निभाएकी थिइन् । उनले आफूमा कोरोनाको संक्रमण देखिएको बताएपछि सामाजिक सञ्जालमा चलचित्रकर्मी र शुभचिन्तकहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।