२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

बाँकेका एक वडा अध्यक्षसहित २९ जनाले कोरोना जिते

बाँके, 
२७ जेठ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्षसहित २९ जनाले कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन ।

राप्तिसोनारी ८ का अध्यक्षसहित राप्तिसोनारीको वडा नम्बर २ को माथेबास आइसोलेसन सेन्टरबाट ३ जना, वडा नम्बर ८ को शिवशक्ती माबि आइसोलेसन सेन्टरबाट ३ जना र वडा नम्बर ९ को झिजरी आइसोलेसन सेन्टरबाट १ जना गरी ७ जना उपचार पश्चात् निको भएर घर फर्केका हुन । निको भएर घर फर्कन लागेका उनिहरुलाई राप्तिसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बिदाई गरेका थिए ।

यी ७ जना सबै राप्तिसोनारी गाउँपालिकाका बासिन्दा हुन । उनिहरु सबैलाई जेठ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, कोहलपुर स्थित कृषि विकास तालिम केन्द्रमा रहेको आईसोलेसन सेन्टरमा बसेका नरैनापुर गाउँपालिकाका २२ जनापनि आज घर फर्केका छन । उनिहरुलाई बिदाई गर्न कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत पुगेका थिए ।

कोहलपुरबाट डिस्चार्ज भएका २२ मध्ये १८ जनालाई जेठ १ गते, ३ जनालाई जेठ ३ गते र १ जनालाई जेठ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । आज डिस्चार्ज भएका २९ जना समेत बाँकेमा कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ९७ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।