२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

क्वारेन्टिनमा सर्पले टोकेका दृष्टिबिहीनलाई कोरोना पुष्टि

सुर्खेत, 
२८ जेठ । सुर्खेतको बराहताल गाउँपालिका–४ स्थित भेरी माविको क्वारेन्टिनमा बसेका एक व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ । गत सोमबार राति सर्पको टोकाईबाट बिरामी भएका उनलाई हिजो बिहान कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो । तर, उनलाई अस्पताल पुर्‍याउने मान्छेहरुले उनी क्वारेन्टिनमा बसेका हुन् भन्ने सूचना दिएनन् ।

स्वास्थ्यकर्मीले सामान्य बिरामीलाई जसरी उपचार गरेपछि मात्रै उनी क्वारेन्टिनबाट ल्याइएका बिरामी भएको खुलेको हो । सोधपुछ गर्ने क्रममा सुरुमै उनी आरडीटी पोजिटिभ रहेको पाइएको र पछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । सो घटनापछि अस्पतालमा त्रास छाएको छ ।

‘सोधपुछ गर्ने क्रममा सुरुमै उनी आरडीटी पोजिटिभ रहेका थाहा भयो,’ अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘पछि पीसीआर गर्दा त कोरोना नै पुष्टि भयो ।’ उपचारमा संलग्न दुई जना चिकित्सक, तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीलाई क्वारेन्टिनमा राखिएको छ । अस्पतालको आकस्मिक सेवा पनि बन्द गरिएको छ ।

‘सुरुमै क्वारेन्टिनबाट ल्याएको भनेको भए पीपीई लगाएर सावधानीका साथ उपचार गरिन्थ्यो,’ डा. खड्काले भने, ‘झुक्याएर अस्पतालमा ल्याउँदा उपचारमा संलग्न स्वास्थ्यकर्मी र अन्यलाई पनि जोखिममा पारेको छ ।’

कोरोना संक्रमित ती व्यक्ति दृष्टिबिहीन भएका कारण उनको स्याहार–सुसारमा संलग्नदेखि क्वारेन्टिनबाट अस्पतालसम्म ल्याउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने डा. खड्काले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।