२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

‘जो जससँग सम्बन्धित छ’

आज कोभिड १९ ले देश आतंकित बनिरहेको छ । लाखौं मानिस क्वारेन्टाइनमा आफ्नो परिक्षणको पर्खाइमा छ्न । क्वारेन्टाइनमा बस्ने खाने राम्रो ब्यबस्था नभएको गुनासोहरु दैनिक जसो आउने क्रम जारी छ । त्यति मात्र होईन क्वारेन्टाइन मै मृत्यु हुनेहरूको संख्या दिनानुदिन बढ्दो छ। जुन अत्यन्त चिन्ताजनक छ।

नेपालमा हालसम्म ७२ जिल्लामा कोरोनाको प्रभाव परिसकेको छ । क्रमैसङ्गै दाङ जिल्ला पनि यसको चपेटामा पर्ने क्रममा छ।दाङमा १० स्थानीय तह छ्न, भने २०६८ को जनगणना अनुसार कुल जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ थियोे भने ९ बर्षको अन्तरालमा यो संख्या कति पुग्यो ठ्याक्कै अनुमान गर्न गार्‍हो छ।तथापि पहाडी जिल्लाबाट पनि बसाइँसराइ आउने क्रम बाक्लो भएको हुँदा यो संख्या करिब ७ लाख भन्दा बढी हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

अहिले दाङमा क्वारेन्टाइन बेडको संख्या १००१०, क्वारेन्टाइन मा बस्नेको संख्या लगभग ५७००, आइसोलेसन बेड १६६, आइसोलेसन बेडमा भर्ना ७८, पिपिइ १०० थान, पिसिआर पद्धतिबाट परिक्षण गर्ने मेसिन १ थान राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मात्र छ । जसले दिनमा २०० देखी २५० जनाको दरले परिक्षण गरिरहेको छ, भने अहिले ४००० स्याम्पल परिक्षणको प्रक्रियामा छ । हिजोसम्म दाङमा ८० जना कोरना संक्रमित भेटिएकाछ्न, जो बढ्ने क्रममा छ । दाङमा अहिलेसम्म मृत्यु भने कसैको भएको छैन।

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीसङ्गको मेरो फोन सम्पर्कमा उहाँले बताए अनुसार दाङ बाहेक अन्यत्र जिल्लाबाट पनि स्वाब को स्याम्पल धेरै आउने गरेकोले परिक्षणमा थप जटिलता आएको छ । जसका कारण रिपोर्ट आउन टाइम लाग्दा क्वारेन्टाइनमा बस्नेहरू आत्तिएको र केन्द्रबाट पनि त्यस्तै खालको निर्देशन आएको हुँदा राम्रो क्वालिटिको आरडिटी किटबाट परिक्षण गरेर घर पठाउने काम भै रहेको छ।सबैको हकमा चाही होइन, धेरैको भने पिसिआर पद्धति बाट नै परिक्षण भैरहेको छ।

आरडिटी किटलाई बिश्वका धेरै देशले हटाइ सकेका छन । यो उपयोगहिन छ, यसले भ्रम सृजना गर्दछ । यसको भरपर्दा देशका विभिन्न स्थानमा दुर्घटना भै सकेका छन । त्यसकारण यसलाई अबिलम्ब रोक्नुपर्छ । केहि ब्यापारी हरुको प्रभावमा परी सरकारले यसलाई निरन्तरता दिन खोज्नु जनताको स्वास्थ्य माथी ठाडो खेलवाड हो।

दाङको कोरोना बिशेष अस्पतालले बिरामी पोजेटिभ हुँदाहुँदै पनि डिस्चार्ज गरेर घर पठाएको घटना सार्बजनिक भएपछि अहिले दङ्गाली जनता ठुलो त्रासमा बस्न बाध्य छन । यस्तो कार्यले कोरोनालाई बढवा दिन सहयोगी बन्छ, हामी यसलाई रोकथाम र नियन्त्रण गर्न खोजी रहेका छौं, कि बढवा दिन सहयोगी बन्दैछौ ? सरकार माथि प्रश्न चिन्ह खडा हुन्छ।

सरकारको प्रमुख दायित्व भनेको जनताको जिबन रक्षा गर्नु हो । यति ठुलो जनसंख्या भएको जिल्लामा भोलि सानो लापरबाहीको कारणले भयावह स्थिति आउन सक्छ। यसबाट निस्कने परिणामको प्रमुख जिम्मेवारी सरकारले लिनुपर्छ त्यसपछि सरकारको निर्देशन पालना गरेनन भने जनताको पनि त्यत्तिकै जिम्मेवारी रहन्छ।

अबको प्रमुख काम भनेको आरडिटीलाई पुर्ण रुपमा रोक लगाई पिसिआर पद्धतिबाट ठुलो दाएरा र तीब्र गतिमा परिक्षण गर्नु नै हो । यसको लागी दाङमा अहिले चालु अबस्थामा रहेको एउटामात्र पिसिआर मेसिनले परिक्षण गरेर सम्भब छैन, तसर्थ जिल्लाका दशै तहका प्रमुखहरुको आपतकालीन बैठक बसी सके दुइवटा नभए एउटा भएपनी पिसिआर मेसिन आफ्नै पहलमा तुरुन्त खरिद गरि परिक्षणलाई अगाडी बढाउनु पर्दछ । अहिले अन्तरास्ट्रिय बजारमा राम्रो क्वालिटिको पिसिआर मेसिनको मुल्य करिब २५ देखी ४० लाखको हाराहारीमा पर्दछ । जुन कुरा, अवस्थालाई मध्यनजर गर्ने हो भने, दाङ जिल्लाको लागी खासै ठुलो कुरा होईन ।

समय बलबान छ, समय छ्दैँ सबैकाम गर्न सकियो भने राम्रो हो, होईन भने पछि पछुताएर केहि हुनेवाला छैन। दिन दुइगुणा रात चौगुणाको हिसाबले दाङमा कोरोनाले आक्रमण गर्दै जाने अवस्था छ। ठुलो जनधनको क्षति हुने सम्भावनालाई कम गर्नका लागी दाङको स्थानीय सरकार एकजुट भइ यो कोरना विरुद्ध लाग्नुपर्दछ । क्वारेन्टाइनमा रहेकालाई पनि बिश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सबैकुराको ब्यबस्थापन गर्नुपर्दछ। बिकास बरु गर्दै गरौंला अहिले जनता बचाउने तिर सोचौं, बिचार गरौं, निर्णय गरौं अनि कार्वान्वयन गरौं ।

अन्तमा, सरकारलाई दबाब नदिदा सम्म केहि हुनेवाला छैन तसर्थ सबैले आ-आफ्नो ठाउँबाट सरकारलाई खबरदारी गरौ, बिरोध गरौं दबाब दिऔ । जनताको खबरदारी बिना सरकार सहि दिशामा अघि बढ्ने छाट्काट देखिन्न। सहि काममा धन्यवाद र गलत काममा निरन्तर बिरोध गरौ । सरकारलाई जवाफदेही बनाऔ।
जय नेपाल

महेश श्रेष्ठ
युवा नेता
(नेपाली कांग्रेस दाङ)