२०७७ माघ १० गते शनिवार
२०७७ माघ १० गते शनिवार

प्रतिशोध र आवेगमा सामूहिक हत्या : मुख्य अभियुक्त

रूपन्देही, 
२८ जेठ । प्रहरीको छानबिन टोलीले रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा सोमबार राति भएको सामूहिक हत्याका मुख्य अभियुक्तलाई सार्वजनिक गरेको छ ।

मंगलबार नै पक्राउ परेका सुर्खेतको लेकबेंसी नगरपालिका–५ नेटा स्थायी घर भइ मैनहवास्थित गंगादेवी पशु फार्ममा काम गर्दै आएका ३२ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो चरित्र हत्या गर्ने र काममा ठगी गरेको आरोप लगाउने गरेकाले त्यही रिस फेर्न आवेगमा हत्या गरेको स्वीकार गरेको छानबिन टोलीका प्रमुख प्रहरी वरिष्ठ नायव उपरीक्षक राजकुमार बैदवारले बताए । प्रदेश प्रहरी कार्यालयले मंगलबार नै बैदवारको कमाण्डमा प्रहरी उपरीक्षक विकासराज खनाल र प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोर सदस्य रहेको समिति गठन गरेको थियो ।

टोलीले सिंजालीसँगै स्थानीय, फर्म सञ्चालक, मृतकका आफन्तसँग पनि सोधपुछ गरेको छ । ‘अहिलेसम्मको अनुसन्धानमा मुख्य अभियुक्तका रुपमा उसको मात्र संलग्नता देखिएको छ,’बैदवारले पत्रकार भेटघाटमा भने, ‘हत्याको कारण भनेको रिसइवी, तनाव र आवेग नै देखिन्छ ।’ पाँचै जना मृतकलाई पहिला लाठी प्रहार गरेर बेहोस बनाइ कोदालो (फरुवा)ले हानेर हत्या गरेको खुलेको उनले बताए ।

प्रहरीका अनुसार घटनामा मृतक माधव मुसहरकी श्रीमती जानकीले प्रतिकारको प्रयास गरेको पनि देखिएको छ । उनले झसेन्द्रलाई हँसियाले प्रहार गरेको र उनको हातमा चोट लागेको देखिएको अनुसन्धानमा खटिएका रूपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको लाठी, कोदालो, मदिराको बोतल र ३ पोका मुसा मार्ने विष पनि बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए । प्रहरीले बुधबार नै सिंजालीलाई थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरेको छ । हत्या गरिएका रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासी स्थायी घर भएर ७ वर्षदेखि तिलोत्तमा नगरपालिका–१० मा बस्दै आएका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीय जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षका करन चौधरी र १६ वर्षको आशिष चौधरीको बुधबार नै पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि शव परिवारले बुझेर घटना भएको तिनपा–१० मैनवहा नजिकै दाहसंस्कार गरेको वडाध्यक्ष ब्यासमुन थारुले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।