२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

परीक्षणका लागि पठाएको स्वाब नै हरायो, दाहसंस्कार अन्यौलमा

अर्घाखाँची,
२९ जेठ । मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाइएको स्वाब हराएको छ ।

परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा राखिएको छ । मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा  रहेको क्वरेन्टीनमा बसेका ५७ वर्षीय पुरुषको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

घर फर्केका ती पुरुष १४ दिन देखि क्वरेन्टीनमा रहँदै आएका थिए । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि घरमा गएर आराम गराउने सल्लाहसहित घर फर्काउँदै गर्दा उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । शव व्यवस्थापनका लागि स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल

भैरहबामा मृतक व्यक्तिको नामको स्वाब हराएको खुल्न आएको मृतकका आफन्तले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा नभेटिएपछि फेरि मृतकको स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ । रिपोर्ट नआउँदासम्मका लागि शवको दाहसंस्कार रोकिएको छ ।

-उज्यालो अनलाइन