अर्घाखाँची,
२९ जेठ । नेपालमा कोरोना सङ्क्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।
अस्पतालबाट फर्कँदै गर्दा ज्यान गुमाउनुभएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।
घाँटीको शल्यक्रियासमेत गर्नुभएको उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि गएको मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।
अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि फर्कँदै गर्नुभएका उहाँको हिजो बाटोमै ज्यान गएको हो । यसअघि १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बस्नुभएका उहाँको गएको शुक्रबार नै पठाइएको नमुना हराएपछि हिजो फेरि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइएको हो ।
रिपोर्ट नआउँदा हिजोदेखि नै शव रातुको चौरमा बेबारिसे अवस्थामा राखिएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।