२०७९ चैत्र १ गते बुधवार
२०७९ चैत्र १ गते बुधवार

रुकुम पश्चिममा स्वाब संकलन नगर्न निर्देशन

रुकुम, 
३० जेठ । रुकुम पश्चिममा केही समय स्वाब संकलन नहुने भएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले परीक्षण गर्नुपर्ने स्वाबको धेरै नमुना थन्किएकाले केही समय स्वाब संकलन नगर्न भनेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

धेरै स्वाब थन्किँदा पालो आउन ढिलाइ भइरहेका वेला निर्देशनालयले स्वाब संकलन बन्द गर्न मौखिक निर्देशन दिएको कार्यालयको भनाइ छ । परीक्षण गर्नुपर्ने स्वाबको चाप घटेपछि पुनः स्वाब संकलन सुरु हुने स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए ।

उनका अनुसार जिल्लाबाट परीक्षणका लागि पठाइएका एक हजार एक सयभन्दा बढी स्वाबको रिपोर्ट आउन बाँकी छ । गत शनिबार जिल्लाका पाँच स्थानीय तहबाट पठाइएको सात सय ७५ जनाको स्वाबमध्ये ६ सय २५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यसैगरी जिल्लाको चौरजहारी नगरपालिकाबाट पठाइएको चार सय ४८ जना र आठबिसकोट नगरपालिकाबाट पठाइएको ५२ जनाको गरी पाँच सय स्वाब नमुना परीक्षणका लागि पालो कुरिरहेका छन् । कुल एक हजार एक सय २५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

जिल्लामा अझै ठूलो संख्यामा भारत तथा देशका विभिन्न ठाउँबाट आएका व्यक्ति स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसिरहेका छन् । केही रिपोर्ट आउने दिन कुरिरहेका छन् भने केही स्वाब संकलनको पालो कुरेर बसिरहेका छन् ।

पिसिआरको रिपोर्ट आउन ढिलाइ हुँदा स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको खबर नयाँ पत्रिकामा प्रकाशित छ ।