२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा उपचार सुरु

देउखुरी, 
३० जेठ । कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुलाई शुक्रवारबाट राख्न सुरु गरिएको छ ।

दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगतका चार पालिकाहरुको संयुक्त पहलमा कोरोना संक्रमितहरुलाई राख्नको लागि राप्ती गाउँपालिकाको मौरीघाट स्थित राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो ।

शुक्रवार राप्ती गाउँपालिका वडा नं १ , ३ र ४ नं वडाका ६ जना कोरोना पोजिटिभ देखीएका ५ जना पुरुष तथा १ जना महिलालाई उक्त कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा ल्याई राखीएको हो । ६ जना कोरोना पोजिटिभ राख्नु पुर्व राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरको अवस्था, राखीएकाको लागि बस्न, खानको ब्यवस्था लगायतका विषयमा स्थालगत अनुगमन समेत गरेका थिए ।

उक्त कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा राखीएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै शारिरीक समस्या नरहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । कोरोना पोजिटिभ ६ जना नै भारतबाट आएका र स्थानिय नव प्रतिभा क्वारेन्टीन र सिरीचौर क्वारीन्टिनमा बस्दै आएका थिए । यसै विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा राखिएका ६ जना कोरोना संक्रमितहरुलाई हतोत्साहित नहुन, नियमानुसार आईसोलेसनमा बस्न अनुरोध गर्दै कुनै ब्यवस्थापकिय तथा स्वास्थ्यको समस्या आएमा तत्काल जानकारी गराउन समेत अनुरोध गरेका छन् ।

उपस्थित तीनै अध्यक्षहरुले आम नागरिकलाई कोरोना संक्रमणवाट बच्नका लागि आवस्यक सावधानी अपनाउन समेत अनुरोध गरेका छन् । आइसोलेसन वार्डको सञ्चालनसंगै संक्रमितको स्वास्थ्य उपचारमा प्रथम चरणमा खटि विरामीको सेवा तथा स्वास्थ्य उपचार गर्न राप्ती गाउँपालिकाका स्वास्थ्य कर्मीहरु लाई जिम्मेवारी प्रदान गरिएको छ । उपचार, ब्यवस्थापन, सञ्चालन, कार्यान्वयन सुरक्षा तहमा रहनुहुने सबैको मनोवल उच्च राख्दै कोरोना संक्रमीतको स्वास्थ्य लाभको लागि सबैले कामना गर्न समेत सबैमा पालिकाहरुले अनुरोध गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा देउखुरी क्षेत्रमा रहेका चार ओटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर उपचारको प्रवन्ध मिलाइएको छ भने नेपाली सेनाले सुरक्षा दिने काम गरिरहेको छ ।