२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

संविधान संशोधन विधेयक आज पारित हुँदै

काठमाण्डौं, 
३१ जेठ । नेपालको संविधान दोस्रो संशोधन विधेयक आज शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ ।

सरकारले सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज पारित हुने भएको हो ।

संसदले विधेयक पारित गरेसँगै संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।

संसद सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । संसदमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् ।

लिम्पियाधुरासहितको भूभाग समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।

नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन् । गएको जेठ २७ गते प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । नक्साअनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।