वीरगन्ज,
३१ जेठ । वीरगन्जमा बेवारिसे भेटिएको एक शवमा पनि कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ। वीरगन्जमा जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगन्जको घण्टाघर छेउकै विपी उद्यान परिसरमा जेठ २८ गते मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिार रिपोर्ट पोजेटिभ आएको हो। उनको नाम, ठेगाना र पहिचान भने खुल्न सकेको छैन।
प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव, त्यहाँबाट उठाएर नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो। जेठ २८ गते नै शवको पोष्टमार्टम गर्ने क्रममा चिकित्सकले मृतकको स्वाब नमुना पनि लिएका थिए। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर जाँचमा ती पुरुषको स्वाबको रिपोर्ट शुक्रबार राति पोजिटिभ आएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए।
संक्रमण पुष्टि भएको शव नारायणी अस्पतालकै शवगृहमा राखिएको छ। शवको पोष्टमार्टम रिपोर्ट नआइ सकेकाले ती पुरुषको मृत्यु कोरोना वा अन्य कुन कारणले हो भन्ने यकिन भइ नसकेको डाक्टर सिंहले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।