काठमाडौं,
३१ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।
कोरोना संक्रमणविरुद्धको लडाइमा सरकार पूर्ण रुपमा असफल भइसकेको निष्कर्षमा पुगेको कांग्रेसको भ्रातृ संगठन नेविसंघले सोमबार सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो । कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध नेविसंघले सोमबार विरोध प्रदर्शन गर्न लागेको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।
उनले सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरको बिजुली बजारबाट प्रदर्शन सुरु भइ नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिने बताए । नेविसंघले सोमबार दिउँसो २ बजे बिजुली बजारस्थित पुलमा भेला हुन कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत आह्वान गरिरहेको छ ।