काठमाडौं,
३१ जेठ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका थिए ।
संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दैन भन्नेमा पनि कुनै पनि मत नपरेको सभामुख सापकोटाले बताए । प्रतिनिधिसभामा २ सय ६५ सांसद रहेका छन् । त्यसमध्ये संविधान संशोधनका क्रममा २ सय ५८ जनामात्र उपस्थित रहेका थिए । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।
मतदानका क्रममा १२ सांसद अनुपस्थित रहेका थिए । ४ जना सांसद निलम्बनमा छन् भने सभामुखले मतदानमा सहभागिता जनाउँदैनन् ।
भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो । नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।
उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।
भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले नक्सा जारी गरेको हो ।