२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

रुकुम घटना : ३४ जनाविरुद्ध मुद्दा दायर

रुकुम पश्चिम, 
३२ जेठ । गएको जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटनामा प्रहरीले आज ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ ।

मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन्, भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको जनाइएको छ ।

जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराका अनुसार आज मुद्दा दर्ता गरिएको र भोलिबाट थुनछेक बहस सुरु गरिने छ । उनीहरुलाई आजीवन कारावासको माग गरिएको छ ।

मुद्दा लागेकामध्ये पाँच जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् । घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् ।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो ।

जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको यो घटनामा ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको खबर उज्यालो अनलाइनमा प्रकाशित छ ।