दाङ,
२ असार । दाङमा एक जोडीले क्वारेन्टाइनमै अन्तरजातीय विवाह गरेका छन् ।
उनीहरुको विवाह वडा अध्यक्षकै रोहबरमा भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका अन्तरजातीय उक्त जोडीको विवाह वडा अध्यक्ष भरत अर्यालले गराईदिएका हुन् ।
भारतको दिल्लीबाट आई क्वारेन्टाइनमा बसेका उनीहरु प्रेम सम्बन्धमा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडा अध्यक्ष अर्यालले बताए ।
‘भारतबाट आउँदा खेरी नै उनीहरु प्रेम सम्बन्धमा रहेछन्, त्यसैले घर सल्लाहमा जेठ ३२ गते बरपीपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराई दिएको हुँ’–वडा अध्यक्ष अर्यालले भने ।
उनले पीसीआर परिक्षण रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि आफुहरुको धर्म संस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गराएको बताए । घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २३ बर्षिय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की २१ बर्षिय महिलाबीच क्वारेन्टाइनमै अन्तरजातीय विवाह भएको हो ।
उनीहरु जेठको पहिलो सातामात्रै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । करीव २४ दिन क्वारेन्टाइनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ ।
उक्त क्वारेन्टाइनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आएपनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ । रिपोर्ट नेगटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको वडा अध्यक्ष अर्यालले बताए ।