दाङ,
४ असार । दाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सम्बन्धित स्थान सिल गर्दै कन्टयाक्ट ट्रेसिङको काम थालिएको छ ।
दाङमा पछिल्लो चार दिन दिनमा एक सय ५५ जना कोरोना सङ्क्रमित थपिएपछि कन्याक्ट ट्रेसिङको काम थालिएको हो । घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ को वडा कार्यालय, वडा नम्बर ४ को स्वास्थ्य कार्यालय र वडा नम्बर २ को शहरी स्वास्थ्य क्लिनिक सिल गरिएको उपमहानगरले जनाएको छ ।
स्वास्थ्यकर्मीहरु कोरोनाबाट सङ्क्रमित भएको भेटिएपछि उनीहरु कार्यरत र आउजाउ गरेका तीन वटा कार्यालय सिल गरिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्य रोगको उपचारका लागि आएका एक जनामा कोरोना पोजेटिभ भेटिएपछि उनको उपचारमा संलग्न निर्देशकसहित २१ जना स्वास्थ्यकर्मीलाइ होम क्वरेन्टीनमा राखिएको छ । घोराहीकै वडा नम्बर १७ ले पीसीआर रिपोर्ट नआउँदै घर पठाएका १७ जनामा चार दिनपछि पोजेटिभ भएको रिपोर्ट आयो ।
यस बीचमा सङ्क्रमितहरुले भेटघाट गरेकाहरुको ट्रेसिङ गर्ने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।
बुधबार दिउँसोसम्मको रिपोर्ट अनुसार जिल्लाका कुल २ सय ५१ सङ्क्रमितमध्ये सबैभन्दा बढी १ सय २९ जना घोराही उपमहनगरपालिकाका रहेका छन् । जिल्लाका सङ्क्रमितमध्ये दुई जना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, एक जना स्वयंसेवक, एक जना सैनिक, एक जना भान्सेसहित अन्य भारतबाट आएर क्वरेन्टीनमा बसेको खबर उज्यालो अनलाइनमा प्रकाशित छ ।