सल्यान,
५ असार । पीसीआर रिपोर्ट आउन ढिलाइ भएपछि क्वारेन्टाइनबाट आरडीटी गरेर घर पठाइएकामा कोरोना देखिएको छ ।
सिद्धकुमाख गाउँपालिकामा बुधबार संक्रमण पुष्टि भएका तीन जनालाई गाउँपालिकाले साताअघि क्वारेन्टाइनबाट पठाएको थियो ।
स्वाब संकलन गरेको दुई साता बितिसक्दा पनि रिपोर्ट नआएपछि आरडीटी गरेर घर पठाइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए । उनका अनुसार अहिले तीनै जनाको घर सिल गरिएको छ । ‘बाहिरकालाई पनि संक्रमितको घरमा आउजाउ गर्न रोक लगाएका छौं,’ उनले भने, ‘संक्रमितलाई आइसोलेसनमा पठाइनेछ । उनीहरूका परिवार र भेटघाट गरेका अन्यको पनि पीसीआर परीक्षण गरिनेछ ।’
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अर्जुन बुढामगरले बुधबार मात्र सल्यानमा २५ जना संक्रमित थपिएको जानकारी दिए । आरडीटीका भरमा घर पठाउनुले ठूलो जोखिम निम्याउन सक्ने भएकाले पीसीआर रिपोर्ट आउन ढिलाइ भए पनि नआत्तिन उनले स्थानीय तहलाई आग्रह गरे ।
यससँगै जिल्लाभर संक्रमितको संख्या १ सय ६२ पुगेको खबर कान्तिपुरमा प्रकाशित छ ।