काठमाण्डौं,
६ असार । देशका धेरैजसो ठाउँमा हल्का पानी परिरहेको छ । गण्डकी, प्रदेश ५ र कर्णालीका थोरै ठाउँमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको प्रभावले केही दिनदेखि सुदूरपश्चिमका थोरै ठाउँबाहेक देशभर हल्का, मध्यम र भारी वर्षा भैरहेको छ । अब १२ दिन तुलनात्मक रुपमा कम पानी पर्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ ।
आज राति सुदूर पश्चिमप्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । भारी वर्षा भएका र हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।