काठमाडौं,
६ असार । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन दोस्रो साता गर्ने तयारी सुरु भएको छ । चैत्र २८ र २९ गते तय भएको महासंघको निर्वाचन कोरोना भाइरसको उच्च जोखिमका कारण जेठ ७ र ८ मा गर्ने तय गरिएको थियो । तर उक्त समयमा पनि कोरोनाको जोखिम उत्तिकै रहेका कारण चुनाव हुन सकेन ।
पछिल्लो समयमा सरकारले लकडाउन खुकुलो बनाउने नीति लिएको छ । अब साउन दोस्रो हप्तादेखि तेस्रो हप्ताभित्र निर्वाचन गर्ने तयारी महासंघको छ । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार निर्वाचनको मिति तय गर्नका लागि आउँदो मंगलबार कार्यसमितिको बैठक डाकिएको छ । उक्त बैठकले साउनको मध्यतिर निर्वाचनको मिति तय गर्न सक्ने बुझिएको छ ।
महासघको ५४ औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्दै छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष बन्ने प्रावधान छ । आगामी नेतृत्वका लागि अध्यक्ष हुने निश्चित भएका कारण वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रशाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।
प्रदेश संघको निर्वाचन महासंघ भन्दा अघि हुनुपर्ने प्रावधान भएपनि कोरोनाका कारण चुनाव भएको एक महिनापछि गर्ने निर्णय यसअघि भइसकेको छ । प्रदेश अध्यक्ष महाससंघको कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ ।