देउखुरी,
६ असार । गएराती देखि परेको लगातार वर्षातका कारण देउखुरीको राप्ति नदीमा बाढी आएको छ । राप्तीमा आएको बाढीले देउखुरीका किसानले लगाएको मकै, धान, बदाम, तरकारीमा क्षतिपुगेको छ ।
लगातारको वर्षातले लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका छेदु चौधरीको कच्ची घर भत्किएको छ । आर्थिक अवस्थाले पनि कम्जोर भएका चौधरीको पांच जनाको परिवार छ । अर्कैको ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका चौधरीको लगातारको वर्षाले झनै पिडा थपिदिएको छ ।
सिट्ठाले बारेको कच्ची घर, तिन को छानो भएको घरको एकातिरको भित्ता भत्किएको छ । चारैतिर पानीले घेराबन्दी गरेपछि उक्त घर भत्किएको स्थानीयले बताए । घर भत्किदा छेदु चौधरी अर्काको खेतमा कम गर्न गएको उनका श्रीमतीले बताईन । घर भत्किदा लत्ताकपडा, अन्नपात सबै भिजेका छन् ।