२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

घरबार विहिन बृद्ध दम्पतीलाई वलीको खाद्यान्न सहयोग

दाङ, 
६ असार । युवा व्यवसायी तथा समाजसेवी जयराम वलीले वृद्ध दम्पतीलाई खाद्यान्न सहयोग गरेका छन् । दंगिशरण गाउँपालिका ६ निवासी वलीले घोराही उपमहानगरपालिका वडा नं. १३ रानीजरुवामा बस्दै आएका घरबार विहिन वृद्ध दम्पतीलाई खाद्यान्न सहयोग गरेका हुन् ।

सामाजिक सञ्जाल युटुवमा भिडियो हेरेपछि उनले शनिबार वृद्ध दम्पती बस्दै आएको घोराही १३ रानी जरुवास्थीत घरमा पुगेर एक बोरा चामल, तेल, बिस्कुटसहित नगद पैसा सहयोग गरेका हुन् । पाल्नका लागि छोराछोरी समेत नभएका घरबारविहीन वृद्ध दम्पती समस्या परेको भिडियो युटुवमा हेरेपछि आफुले थोरै भएपनि सहयोग गरौं भन्ने उद्देश्यले चालम, तेललगायत खाद्यान्न सहयोग गरेको बताए ।

‘वृद्ध दम्पतीको बस्नका लागि घर पनि नभएको र पाल्नका लागि सन्तान पनि रहेन्छन’–ओलीले भने ‘उहाँहरु समस्या परेको भिडियो हेरेपछि मैले थोरै सहयोग गरौं भनेर खाद्यान्न सहयोग गरेको हुँ ।’ उनले अहिलेको सहयोगले तत्कालका लागि समस्या समाधान हुने समेत बताए ।

रोल्पा जिल्ला जुरमसिना निवासी ७१ बर्षीया रामकली परियार र ६६ बर्षीय लालबहादुर दसौदीको वृद्ध दम्पती पाल्नका लागि कोही नभएपछि विगत एक बर्षदेखि घोराही रानीजरुवामा बस्दै आएका छन् । मासिक ५ सय रुपैयाँ तिरेर कोठा भाडा लिएर बस्दै आएको बताउने उनीहरु लकडाउनका कारण थप समस्या परेका छन् । सेवारखोलामा गिट्टी कुटेर जीविका चलाउँदै आएका उनीहरु मध्य ७१ बर्षीया रामकली परियारको नागरिकता समेत छैन । नागरिकता नहुँदा सरकारले ज्येष्ठ नागरिकलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता समेत पाउन नसकेको गुनासो गरेका छन् ।

नागरिकताको लागि पहल गरेपनि विभिन्न बहना बनाएर नागरिकता नबनाइदिएको राकमलीले बताइन । ‘आफु जस्तै अरुले भत्ता बुझ्छन, आफ्नो त नागरिकता पनि छैन’ उनले भनिन् ‘नागरिकता नहँुदा भत्ता आउँदैन्, जसले साँझ विहान खानका लागि गिट्टी कुट्नु परेको छ ।’ दुई वटी छोरीहरु भएपनि उनीहरु सम्पर्कमा नभएको उनले बताइन ।