२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रतिष्ठानमा रोकिएको स्वास्थ्य सेवा भोलिदेखि सुचारु हुने

दाङ, 
७ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोकिएको स्वास्थ्य उपचार सेवा भोलीदेखि सञ्चालनमा आउने भएको छ ।

अस्पतालका निकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि रोकिएको स्वास्थ्य सेवा असार ८ गते सोमवारदेखि सञ्चालनमा आउने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिएसँगै अस्पतालाई सेनेटराईजिङ गर्न दुई दिनका लागि अस्पताल सिल गरिएको थियो । दुई दिन बन्द गरेको स्वास्थ्य सेवा भोलीदेखि सुरुवात गर्न थालेको प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।

उनका अनुसार भोली सोमवारदेखि आकस्मिक सेवा, मेडिसिन ओपीडी सेवा, इएनटी ओपिडी, छाला तथा यौन रोग ओपिडी, रेडियोलोजी, डेन्टल ओपिडी, फिजियो थेरापी, बाल रोग र माइनर ओटी सेवा सुचारु गर्न थालेको छ ।

कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीलाई आइसोलेसनमा सारिएको प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । उनका अनुसार आइतवार प्रतिष्ठानकै एक जना स्वास्थकर्मीसहित अन्य थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिष्ठानका चिकित्सकसहित चार जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कका आधारमा १२ जना चिकित्सक, ५१ जना स्वास्थ्यकर्मी र ६३ जना कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।