२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

पार्टी कार्यालयमा स्कुल सञ्चालन भएको प्रति कांग्रेसको आपत्ती

तुलसीपुर, 
८ असार । नेपाली काग्रेस दाङ क्षेत्र नं ३ ले सरकारी विद्यालयको गतिविधि राजनीतिक दलको पार्टी कार्यालयबाट सञ्चालन भएको प्रति आपत्ती जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको माध्यमिक विद्यालय सेन्टर तुलसीपुरले विद्यार्थी भर्ना र पाठ्यपुस्तक नेकपाको पार्टी कार्यालयबाट गरिरहेको विषय सार्वजनिक भए पछि नेपाली कांग्रेस क्षेत्र नं ३ ले यसको विरोध गर्दै शैक्षिक गतिविधि पार्टी कार्यालयबाट नभएर शैक्षिक थलोबाट गर्न समेत आग्रह गरेको छ ।

नेपाली काग्रेस दाङ क्षेत्र नं ३ का क्षेत्रीय सभापति जगत बहादुर खडका, निर्वाचन क्षेत्र (क)का सभापति घनश्याम ढकाल, (ख)का सभापति खिम बहादुर वलीले संयुक्त रुपमा विज्ञप्ती निकालेर यस्तो बताएका हुन ।

‘शिक्षा जस्तो गम्भीर विषयमा राजनीतिकरण गरिनु हुदैन, तुलसीपुरमा रहेको सरकारी विद्यालय सत्तारुढ राजनीतिक दल (नेकपा)को पार्टी कार्यालयमा सञ्चालन भएको खवरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, माध्यामिक विद्यालय सेन्टर तुलसीपुरले नयाँ शैक्षिक सत्रको भर्ना र पाठ्यपुस्तर वितरण जस्ता कार्यक्रमहरु नेकपाको तुलसीपुरमा रहेको कार्यालयबाट हुनुले शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको हाम्रो बुझाई छ ।’

बालबालिकाको भविष्य जोडिएको शिक्षामा राजनीतिक सन्देश दिने गरि राजनीतिक दलको कार्यालयमा विद्यालय चनाउने कार्य प्रति हाम्रो घोर आपत्ती जनाउदै सत्ताको आडमा हुने यस्ता कार्यहरु तत्काल रोक्न र शिक्षालाई शैक्षिक थलोबाट नै सञ्चालन गर्न आग्रह गर्दछौं’ विज्ञप्तीमा भनिएको छ । तत्काल त्यस्ता कार्य रोक्न पनि आग्रह गरिएको छ ।

‘कलिला बालबालिकाहरुलाई जवरजस्त राजनीति सन्देश प्रवाह नगर्न पनि अनुरोध गर्दछौं । दलको कार्यालयबाट विद्यालयको गतिविधि सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई तत्काल कारवाही गर्न तुलसीपुर उपमहानगरपालिकासंग जोडदार माग गर्दछौ,’ र शिक्षा जस्तो महत्वपूर्ण विषयमा कार्यरत विद्धान कर्मचारीहरुलाई यस्ता गतल कार्य गर्नेहरुको निगरानी बढाउन अनरोध गरिएको छ ।