दाङ,
९ असार । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म गएर प्रदर्शन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ बुझाइ गरेपछि फर्किएको बताए ।
उनीहरुले छिटो पीसीआर रिपोर्ट दिन र छिटो आफूहरुलाई घर फर्काउन माग गर्दै नाराबाजी गरेका थिए ।
दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुँदै आएको छ । तर चाप अत्यधिक रहेकाले छिटो परीक्षण हुन सकिरहेको छैन । स्वाबको नमूना परीक्षणको चाप बढेसँगै प्रतिष्ठानले हालै दोस्रो पीसीआर परीक्षण मेसिन जडान गरेको छ ।