२०७८ साउन २२ गते शुक्रवार
२०७८ साउन २२ गते शुक्रवार

फरार अभियुक्त ११ वर्षपछि तरवार र चक्कुसहित पक्राउ

नेपालगन्ज, 
९ असार । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोटन तथा फिरौती माग गर्ने जस्ता अपराधिक गतिविधिका नौ मुद्दाका एकजना फरार अपराधी तथा अभियुक्तलाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले मंगलबार पत्रकार सम्मेलन गरेर बाँकेको डुडुवा गाउँपालिका ५ का धर्मा सिंह भन्ने राजेश यादवलाई बिहान ३ बजे उनकै घरबाट पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका यादवको विस्ताराको सिरानीबाट तरवार र एक थान चक्‍कु पनि बरामद गरेको थियो । लकडाउनको बेलामा भारतबाट आएर २३ दिनदेखि घरमा लुकेर बसेका थिए ।

विगतमा सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आबद्ध रहेर हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता अपराधमा संलग्न भएको एसपी रानाले बताए ।