२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

क्वारेन्टिनबाट घर गएका तीन जनामा कोरोना पुष्टि

प्युठान, 
९ असार । प्युठानको स्वर्गद्वारी नगरपालिकामा संक्रमण पुष्टि भएका चार जना मध्ये तीन जना र्‍यापिड डाइग्नोस्टिक (आरडीटी)टेस्ट गरेर क्वारेन्टिनबाट घर पठाइएका व्यक्ति रहेको पाइएको छ ।

स्वर्गद्वारी नगरपालिका–८ को जनता मावि क्वारेन्टिनमा बसेर जेठ २७ गते घर गएका २८, ३९ र ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए ।

‘भारतको चेन्नाईबाट जेठ १३ गते उनीहरुसँगै आएका २० जनाको समूह जनता माविको क्वारेन्टिनको एउटै कोठामा बसेका थिए,’ स्वास्थ्य प्रमुख केसीले भने, ‘जेठ २७ गते उनीहरुको आरडीटी टेस्ट गरेका थियौं । जसमध्ये एक जनाको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आयो । आरडीटी पोजेटिभ देखिएका व्यक्तिलाई क्वारेन्टिनमै राखेर बाँकी १९ जनालाई सोही दिन घर पठाएका थियौं ।’

स्वास्थ्य प्रमुख केसीले भने, ‘आरडीटी पोजेटिभ आएका व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनीसँगै बसेका १९ जनाको पनि जेठ ३० गते स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको थियौं । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ ।’

जनस्वास्थ्य प्रमुख केसीका अनुसार संक्रमण पुष्टि भएका तीनै जनालाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।